कञ्चनपुर । निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न नगरी थप म्यादसमेत समाप्त भइसक्दा पनि प्रगति नदेखिएपछि ठेक्का रद्द गरेको हो।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार निर्माण व्यवसायीले जिम्मेवारीअनुसार काम नगरेपछि ठेक्का तोड्ने निर्णय गरिएको हो। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएका अधिकांश सडक आयोजनामा अत्यन्त न्यून प्रगति देखिएको थियो।
कार्यालयका अनुसार एसएन निर्माणका ४, नागार्जुनका ४, राधाभानुका २, गणपतिका ४ तथा आरपी कन्स्ट्रक्सनको १ ठेक्का गरी कुल १५ ठेक्का तोडिएका हुन्।
सम्झौताअनुसार समयमै काम सम्पन्न नगरी लामो समयसम्म आयोजना अलपत्र पारिँदा स्थानीयवासीले निरन्तर गुनासो गर्दै आएका थिए। कतिपय सडकमा त प्रारम्भिक कामसमेत पूरा नभई वर्षौंदेखि निर्माण रोकिएको अवस्था थियो।
कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ तथा ठेक्का सम्झौताको प्रावधानअनुसार सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने जनाएको छ। साथै कार्यसम्पादन जमानत, धरौटी तथा पेस्की रकम जफत गर्ने प्रक्रिया अघि बढाइनेछ।
ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई १५ दिनभित्र वित्तीय फरफारकका लागि समय दिइएको छ।
यी सडक आयोजनाहरू ग्रामीण भेगमा पर्ने भएकाले सडक नबन्दा स्थानीयवासीलाई दैनिक आवतजावत, कृषि उपज ढुवानी तथा आधारभूत सेवामा समस्या भएको छ। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण जोखिम समेत बढ्दै आएको स्थानीयको गुनासो छ।