काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले स्थलगत भ्रमण तथा निरीक्षण गर्नुभएको छ।
भ्रमणका क्रममा मन्त्री मेहताले विभागका विभिन्न शाखा, प्रयोगशाला तथा सेवा प्रवाहसम्बन्धी गतिविधिहरूको अवलोकन गर्दै विभागले खाद्य सुरक्षा, गुणस्तर नियन्त्रण तथा उपभोक्ता स्वास्थ्य संरक्षणका क्षेत्रमा गरिरहेको कार्यबारे जानकारी लिनुभयो।
सो अवसरमा मन्त्री मेहताले विभागका कर्मचारीहरूसँग अन्तरक्रिया तथा छलफल गर्दै मन्त्रालय र विभागबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरूलाई परिणाममुखी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले आम उपभोक्ताको स्वास्थ्य संरक्षणका लागि खाद्य पदार्थको गुणस्तर परीक्षण, अनुगमन तथा नियमन प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो।
छलफलका क्रममा विभागका कर्मचारीहरूले विभागका वर्तमान गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे मन्त्री मेहतालाई जानकारी गराएका थिए। साथै सेवा प्रवाह सुधार, प्रयोगशाला क्षमताको विकास, जनशक्ति व्यवस्थापन तथा संस्थागत सुदृढीकरणका विषयमा समेत विचार-विमर्श भएको थियो।
मन्त्री मेहताले विभागको कार्यसम्पादनप्रति प्रशंसा व्यक्त गर्दै खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सरकारको उच्च प्राथमिकताको विषय रहेको बताउनुभयो। उहाँले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र समन्वय उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै विभागलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी ढङ्गले निर्वाह गर्न आग्रह गर्नुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मातहतमा आएपश्चात् मन्त्रीस्तरीय यो पहिलो औपचारिक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम भएको विभागले जनाएको छ।
