काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले अध्यक्ष पदका लागि खुलाएको आवेदनको म्याद आज साँझ ५ बजेसम्म कायम रहेकामा कुल ५० जनाको आवेदन परेको हो।
आवेदन दिनेहरूमध्ये नेपाल बीमा प्राधिकरणकै तीन कर्मचारी पनि प्रतिस्पर्धामा उत्रिएका छन्। प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक पुजन ढुँढुङ्गेल अधिकारी तथा उपनिर्देशक विरोध भट्टले अध्यक्ष पदका लागि आवेदन दिएका हुन्।
अर्थ मन्त्रालयले जेठ १३ गते सात दिनको समयसीमा राखेर अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। आवेदन अवधि समाप्त भएसँगै अब छनोट प्रक्रियालाई अगाडि बढाइनेछ।
नेपाल सरकारद्वारा २०८२ असार ३० गते तत्कालीन अध्यक्ष शरद ओझा निलम्बन भएपछि प्राधिकरण नेतृत्वविहीन अवस्थामा रहेको थियो। त्यसयता सरकारले सहसचिव तथा सचिव स्तरका अधिकारीलाई अस्थायी रूपमा अध्यक्षको जिम्मेवारी दिँदै आएको छ।
बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१)(क) अनुसार प्राधिकरणको अध्यक्ष हुन बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ।
साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको व्यक्ति अध्यक्ष पदका लागि योग्य मानिने कानुनी प्रावधान रहेको छ।