काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबारदेखि पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ देखि २२ गते (जुन १–५) सम्म भारत भ्रमणमा रहने पार्टीले जनाएको छ।
रास्वपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भाजपा नेतृत्वसँग भेटघाट तथा द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन्।
भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा रास्वपाका शुभेच्छुकहरूसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। साथै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या भ्रमणसमेत उनको कार्यसूचीमा रहेको पार्टीले जनाएको छ।
भारत भ्रमणमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्। पार्टीका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ।
रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यता, रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मूल आयोजक समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठित समितिले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र संगठनात्मक रूपमा प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन २०८३ असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशन सफल बनाउन गठित मूल आयोजक समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनीष झा, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायत नेताहरू सदस्य रहेका छन्। साथै सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि तयारी प्रक्रियामा समेटिएको छ।
यसबीच पार्टी सचिवालय बैठकले संगठन विस्तार, महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल गरेको जनाएको छ। बैठकमा संगठन सुदृढीकरण, अनुशासन आयोग तथा निर्वाचन आयोगका मनोनयन, सम्भावित कारबाही, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि र महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारीका विषयमा समेत समीक्षा गरिएको बताइएको छ।