काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई गम्भीर रूपमा लिएर कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
राप्रपाको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूले पनि कानुनी प्रक्रियामार्फत आफ्नो सफाइ प्रस्तुत गर्न ढिलाइ गर्न नहुने बताए।
लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन नेपालभित्र मात्र सीमित नहुने भन्दै संयुक्त राष्ट्रसंघसँग आबद्ध अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रहरूमा समेत अभिलेखका रूपमा रहने उल्लेख गरे। उनले विगतमा मानव अधिकार उल्लंघनमा दोषी ठहर भएका व्यक्तिमाथि विभिन्न देशहरूले भ्रमण प्रतिबन्ध लगाएका उदाहरण रहेको स्मरण गराउँदै सम्बन्धित पक्षले समयमै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने धारणा राखे।
उनले प्रतिवेदनले विभिन्न संवेदनशील विषय उजागर गरेको उल्लेख गर्दै सरकारले त्यसको कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने बताए। कार्यक्रममा लिङ्देनले राप्रपा मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरे।