काठमाडौं । देशभर बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा सेवाप्रतिको पहुँच र व्यवसाय दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार फागुन मसान्तसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित नेपालको कुल जनसंख्याको करिब ४९.९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो पहुँच ४८.३ प्रतिशतमा सीमित थियो।
बीमा कम्पनीहरूको शाखा सञ्जाल पनि विस्तार भएको छ। फागुनसम्म देशभर जीवन बीमाका १ हजार ७ सय ७४, निर्जीवन बीमाका १ हजार १६ तथा लघुबीमाका २ सय ९ शाखासहित कुल शाखा संख्या २ हजार ९ सय ९९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ हजार ९ सय ९२ थियो।
बीमा शुल्क संकलनमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म कुल १ खर्ब ६० अर्ब २१ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ, जुन अघिल्लो अवधिको तुलनामा १६.१ प्रतिशतले बढी हो। यसमध्ये जीवन बीमाबाट १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ र निर्जीवन बीमाबाट ३२ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
हाल जीवन बीमातर्फ १ करोड ६२ लाखभन्दा बढी र निर्जीवन बीमातर्फ २१ लाखभन्दा बढी बीमालेख सक्रिय रहेका छन्।
दाबी भुक्तानीतर्फ पनि बीमा कम्पनीहरूले ठूलो रकम वितरण गरेका छन्। फागुनसम्म जीवन तथा निर्जीवन दुवै क्षेत्रबाट गरी कुल ४४ अर्ब १५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ। जीवन बीमातर्फ १ लाख २५ हजारभन्दा बढी दाबीबापत २६ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने निर्जीवन बीमातर्फ ९४ हजारभन्दा बढी दाबीबापत १७ अर्ब ३१ करोड रुपैयाँ वितरण गरिएको छ।
हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये अधिकांश कम्पनी नेपाली लगानीमा आधारित रहेका छन्।
बीमा क्षेत्रले रोजगारी सिर्जनामा पनि योगदान पुर्याएको देखिन्छ। फागुनसम्म जीवन तथा लघु जीवन बीमा क्षेत्रमा मात्रै १२ हजार ४ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। साथै, गत वर्षको तथ्यांकअनुसार ४ लाखभन्दा बढी अभिकर्ता अप्रत्यक्ष रोजगारीमा आबद्ध छन्।
बीमा कम्पनीहरूको लगानी पनि विस्तार हुँदै गएको छ। २०८२ पुस मसान्तसम्म बीमकहरूको कुल लगानी ९ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ। यसमध्ये जीवन बीमा कम्पनीहरूको लगानी ८ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने निर्जीवन बीमा कम्पनीहरूको लगानी ८० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।