काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ। सरकारले गठन गरेको सिफारिस समितिले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाअन्तर्गत रहेको समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) पेस गर्न सक्नेछन्।
अध्यक्ष पदका लागि उम्मेदवारले बीमा ऐनअनुसार बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमध्ये कुनै एकमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव आवश्यक पर्ने जनाइएको छ।
यसैगरी उम्मेदवारको उच्च नैतिक चरित्र भएको, बीमा ऐनबमोजिम अयोग्य नरहेको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति मात्रै आवेदनका लागि योग्य हुने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रचलित कानुनबमोजिम कालोसूचीमा परेर फुकुवा भएको कम्तीमा तीन वर्ष पूरा भएको, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) नलिएको, सार्वजनिक निकायसँग ठेक्कापट्टा सम्झौता नगरेको तथा मानसिक सन्तुलन ठीक रहेको व्यक्ति आवेदन दिन योग्य हुने उल्लेख गरिएको छ।