काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको श्रम अधिकार संरक्षणका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई अतिरिक्त समय काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक वा सेवा सुविधा उपलब्ध गराउनुपर्ने भएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै कर्मचारी हित तथा अपाङ्गतामैत्री बैंकिङ सेवा विस्तारसम्बन्धी नयाँ प्रावधान लागू गरेको हो।
लामो समयदेखि बैंकिङ क्षेत्रमा उठ्दै आएको ओभरटाइम काम गराएर पारिश्रमिक नदिने गुनासोलाई सम्बोधन गर्दै राष्ट्र बैंकले स्पष्ट रूपमा श्रम कानुनअनुसार मात्रै कर्मचारीलाई काममा लगाउन निर्देशन दिएको छ।
संशोधित व्यवस्थाअनुसार नियमित कार्यालय समयभन्दा बढी काम गराइएमा श्रम ऐन तथा नियमावलीअनुसार अतिरिक्त भुक्तानी वा सुविधा दिनुपर्नेछ। साथै कुनै पनि कर्मचारीलाई अतिरिक्त समय काम गर्न दबाब दिन वा बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बैंकहरूलाई अपाङ्गतामैत्री सेवा विस्तार गर्न पनि निर्देशन दिएको छ। अब ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षरता कमजोर भएका सेवाग्राहीका लागि छुट्टै विशेष काउन्टर सञ्चालन गर्नुपर्नेछ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गतामैत्री बनाउनुपर्ने भएको छ। त्यस्ता शाखाको विवरण बैंकको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।
नयाँ निर्देशनअनुसार एटिएम लाउन्जमा दृष्टिविहीन तथा श्रवण अपाङ्गता भएका सेवाग्राहीका लागि ब्रेल संकेत, अडियो सपोर्ट र विशेष कन्ट्रोल बटनसहितको कम्तीमा एउटा अपाङ्गतामैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम सेवा प्रयोग गर्न सक्षम भएको अपाङ्गता भएका सेवाग्राहीले स्वघोषणा गरेपछि बैंकले सेवा दिन अस्वीकार गर्न नपाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
नयाँ व्यवस्थाले बैंकिङ क्षेत्रमा कर्मचारी अधिकार संरक्षणसँगै समावेशी तथा पहुँचयोग्य वित्तीय सेवा विस्तारमा समेत जोड दिएको छ।