२०८३ साउन १० आइतबार

राष्ट्र बैंकद्वारा १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण, औसत खराब कर्जा ७.६ प्रतिशत

ई आर्थिक    मंगलबार, जेष्ठ ५ २०८३
1.2K
Shares
राष्ट्र बैंकद्वारा १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण, औसत खराब कर्जा ७.६ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा बाह्य लेखापरीक्षकमार्फत सम्पत्ति गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गरिएका १० वाणिज्य बैंकहरूको नाम सार्वजनिक गरेको छ।

सम्पत्ति गुणस्तर परीक्षण गरिएका बैंकहरूमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी,राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआइसी एसिया, एनएमबी र प्रभु बैंक रहेका छन्।

राष्ट्र बैंकका अनुसार यी बैंकहरूको २०८१ चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा सम्पत्ति गुणस्तर मूल्यांकन परीक्षण गरिएको हो।

परीक्षण प्रतिवेदनअनुसार ती बैंकहरूको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ७.६ प्रतिशत रहेको छ भने औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत कायम रहेको उल्लेख गरिएको छ।

नेपालको बैंकिङ व्यवस्थाअनुसार बैंकहरूले न्यूनतम ८.५ प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्ने प्रावधान छ। त्यस्तै, निष्क्रिय कर्जा अनुपात कम हुनु बैंकको वित्तीय स्वास्थ्यका दृष्टिले सकारात्मक मानिन्छ।

राष्ट्र बैंकले बंगलादेशस्थित हउलदार युनुस एन्ड को चार्टर्ड कम्पनीलाई सम्पत्ति गुणस्तर परीक्षणका लागि छनोट गरेको जनाएको छ। उक्त कम्पनीले प्रत्येक बैंकको छुट्टाछुट्टै तथा एकीकृत प्रतिवेदन तयार गरेको राष्ट्र बैंकको भनाइ छ।

प्रतिवेदनले औंल्याएका सुधारात्मक सुझावहरू क्रमशः कार्यान्वयन गर्दै लैजाने राष्ट्र बैंकले जनाएको छ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेपछि यस्तो परीक्षण अनिवार्य गरिएको थियो। नेपालले आइएमएफबाट ३८ महिनाका लागि ३९ करोड ८८ लाख अमेरिकी डलर बराबरको विस्तारित कर्जा सुविधा प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij