२०८३ साउन १० आइतबार

ब्याकडेट छुट र कर्जा पुनर्संरचनामा हिमालयन बैंकको अनियमितता, राष्ट्र बैंकद्वारा कारबाही

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
1.7K
Shares
ब्याकडेट छुट र कर्जा पुनर्संरचनामा  हिमालयन बैंकको अनियमितता, राष्ट्र बैंकद्वारा कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघनमा  हिमालयन बैंक लिमिटेडलाई सचेत गराएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा गरिएको जोखिममा आधारित स्थलगत निरीक्षणका क्रममा बैंकबाट विभिन्न कमजोरी भएको भेटिएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो।

राष्ट्र बैंकका अनुसार बैंकले केही सीमित ऋणीलाई तोकिएको प्रिमियम दरमा ब्याकडेटबाट लागू हुने गरी छुट दिएको पाइएको छ। साथै उक्त छुट रकम बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरिएको निरीक्षणबाट खुलेको छ।

त्यसैगरी, तोकिएको समयपछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत मात्र असुल गरी कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना गरिएको पनि भेटिएको छ। पुनर्संरचित कर्जामा भाखा नाघेको किस्तालाई मात्र वर्गीकरण गरी बाँकी साँवा रकमलाई असल कर्जामा राखिएको राष्ट्र बैंकले जनाएको छ।

निरीक्षणका क्रममा केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा सही रूपमा वर्गीकरण नगरिएको तथा फोर्स लोन ९० दिनभन्दा बढी बक्यौता हुँदासमेत खराब कर्जामा समावेश नगरिएको पाइएको छ। साथै आवश्यक कर्जा नोक्सानी व्यवस्था समेत नगरेको देखिएको केन्द्रीय बैंकको भनाइ छ।

यी गतिविधि एकीकृत निर्देशन २०८१ विपरीत रहेको ठहर गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।

यससँगै निर्देशन उल्लंघनसँग सम्बन्धित विषयमा सुधारात्मक कदम चाल्ने प्रतिबद्धतासहित बैंकको सञ्चालक समितिबाट कबुलियतनामा समेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij