मुस्ताङ : मुस्ताङको नेपाल–चीन सीमा क्षेत्रस्थित उत्तरी कोरला नाकामा सञ्चार सेवा थप प्रभावकारी बनाउन नेपाल टेलिकमले माइक्रोवेब रेडियो लिङ्कअन्तर्गत बिटिएस टावरमा थप उपकरण जडान गरेको छ।
लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र जोमसोम कार्यालयको प्राविधिक टोलीले शनिबार कोरला नाकामा अतिरिक्त सञ्चार उपकरण जडान गरेको जनाएको हो।
तीन वर्षअघि नेपाल टेलिकमले कोरला नाकामा मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तारका लागि माइक्रोवेब रेडियो लिङ्कसहितको बिटिएस टावर स्थापना गरेको थियो। सीमाक्षेत्रमा व्यापारका लागि बस्ने व्यवसायी तथा भ्रमणमा जाने पर्यटकलाई लक्षित गर्दै सञ्चार पहुँच विस्तार गरिएको भए पनि उपकरणको सीमित क्षमताका कारण सेवा भरपर्दो हुन सकेको थिएन।
नाकामा हालसम्म विद्युत् प्रसारण लाइन सञ्चालनमा नआएकाले बिटिएस टावर सौर्य ऊर्जामार्फत सञ्चालन हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले पोल विस्तार गरिसके पनि नियमित विद्युत् सेवा अझै सुरु भएको छैन।
नेपाल टेलिकम जोमसोम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार टेलिफोन र इन्टरनेट सेवामा देखिएको समस्या समाधान गर्न सौर्य प्रणालीको क्षमता दोब्बर बनाइएको छ। टावर सञ्चालनलाई थप सहज बनाउन २० वटा सोलार प्यानल र १५० एम्पियर क्षमताका तीनवटा ब्याट्री ब्याकअप थप गरिएको उनले जानकारी दिए ।
उनका अनुसार टुजी र फोरजी नेटवर्कको स्थायित्व सुधार गर्न ब्याट्री ब्याकअप र सोलार प्यानलको सङ्ख्या बढाइएको हो ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले टावरको क्षमता विस्तारपछि कोरला नाकामा २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रभावकारी बनेको बताए। सेवा सुधारसँगै सीमाक्षेत्रमा रहेका व्यापारी र पर्यटकलाई थप सहज भएको उनको भनाइ छ।