नेपाल बीमा प्राधिकरण ५८ औं वर्षमा, स्वतन्त्र र सशक्त नियमनकारी संस्थाका रूपमा स्थापित
ई आर्थिक
शुक्रबार, जेष्ठ १ २०८३
1.3K
Shares
काठमाडौं ।नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा प्राधिकरणले गत सातादेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सरकारले खर्च कटौती अभियान अघि बढाएकाले यस वर्ष औपचारिक समारोह आयोजना नगर्ने भएको छ। प्राधिकरणले साँझ अनौपचारिक चियापान कार्यक्रम मात्र आयोजना गर्ने जनाएको छ।
वि.सं. २०२६ साल जेठ १ गते स्थापना भएको तत्कालीन बीमा समिति २०७९ साल कार्तिक २२ गतेबाट नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको थियो। स्थापनाकालमा अर्थ मन्त्रालयअन्तर्गतको निकायका रूपमा रहेको प्राधिकरण हाल स्वतन्त्र र सशक्त नियमनकारी संस्थाका रूपमा स्थापित भएको दाबी गरिएको छ।
बीमा ऐन २०२५ जारी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषद् बैठकले बीमा समिति गठन गर्ने निर्णय गरेको थियो। त्यसयता बीमा क्षेत्रको नियमन, विस्तार र संस्थागत विकासमा प्राधिकरणले भूमिका खेल्दै आएको छ।
प्राधिकरणले विगतमा विभिन्न राजनीतिक दलहरूको हस्तक्षेप झेल्दै आएको उल्लेख गर्दै अहिले पनि राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको चर्चा भइरहेको छ। यद्यपि, बीमा व्यवसायको विस्तारसँगै प्रभावकारी नियमन र क्षेत्रको संस्थागत विकासमा आफ्नो भूमिका अझ मजबुत बनाउँदै लैजानुपर्ने दायित्व प्राधिकरणमाथि रहेको बताइएको छ।
५८ औं वार्षिकोत्सवका अवसरमा प्राधिकरणले पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी, ब्रोकर कम्पनी, बीमा अभिकर्ता तथा सर्भेयरलगायत सम्पूर्ण बीमा क्षेत्रमा आबद्ध पक्षलाई शुभकामना व्यक्त गरेको छ।