काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। मंगलबारको तुलनामा सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार यही परिमाणको सुन ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ कायम थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार उच्च मूल्यमा भइरहेको छ। सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय २५ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।