काठमाडौं । देशभरका यातायात व्यवसायी आइतबारदेखि पोखरामा हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनमा सहभागी हुन जुट्ने भएका छन्।
महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै वैशाख २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब दुई हजार व्यवसायी सहभागी हुने जानकारी दिएको हो।
गण्डकी प्रदेश संयोजक केदार पौडेलका अनुसार ७७ जिल्लाबाट यात्रुवाहक तथा मालवाहक सवारी साधनसँग सम्बन्धित संघ, समिति, कम्पनी, प्रालि, पर्यटन तथा सहकारी क्षेत्रका ३८७ सदस्य संस्थाका प्रतिनिधि तथा पर्यवेक्षक महाधिवेशनमा सहभागी हुनेछन्।
महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले महाधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको बताए। महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै यातायात क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा व्यापक छलफल हुने जनाइएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीका अनुसार यसपटक स्वचालित भाडा समायोजनको विषयलाई मुख्य एजेन्डाका रूपमा उठाइनेछ। सरकारले समयअनुसार स्वचालित भाडा समायोजन नगर्दा व्यवसायीहरू समस्यामा परेको भन्दै यसलाई साझा मुद्दाका रूपमा अघि बढाइने उनले बताए।
यस्तै, यातायात क्षेत्रलाई थप मर्यादित, व्यवस्थित र व्यवसायमैत्री बनाउने विषयमा पनि महाधिवेशन केन्द्रित रहने महासंघले जनाएको छ।