काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तथा चाँदी ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ र चाँदी ५ हजार ५० रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय १५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।