काठमाडौँ : नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच कर्जा कारोबारसम्बन्धी सम्झौता भएको छ। यस सम्झौतासँगै बिमा कम्पनीका कर्मचारीले सहज रूपमा व्यक्तिगत कर्जा सुविधा उपभोग गर्न पाउने भएका छन्।
सम्झौताबमोजिम राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीले नेपाल बैंकको काठमाडौँ बैङ्किङ अफिस शाखामार्फत १५ लाख रुपैयाँसम्म बिनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन्। यसले कर्मचारीहरूको व्यक्तिगत वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
दुवै संस्थाबीचको सहकार्यबाट सेवाग्राहीलाई एकै थलोबाट वित्तीय सेवा उपलब्ध हुने, समय बचत हुने तथा संस्थागत सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।
नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा भएको सम्झौतामा बैंकका रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बिमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले हस्ताक्षर गर्नुभएको थियो।