काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकका अनुसार ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य भएको हो।
ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्प प्रयोग गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, देशभरका जुनसुकै शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्यान अद्यावधिक भएपछि ब्याज भुक्तानीमा काटिएको कर E-TDS रेकर्डमा स्वचालित रूपमा प्रविष्ट भई आयकर प्रणालीसँग मिलान हुने व्यवस्था हुनेछ। यसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा बैंक धाउनुपर्ने अवस्था अन्त्य हुने बैंकको विश्वास छ।
त्यसैगरी, बैंकले ग्राहकलाई आफ्नो ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी प्रणाली वा MoBank एपमार्फत “Change Email” विकल्प प्रयोग गरी ईमेल अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको छ।
यसअघि प्यान उपलब्ध गराए पनि कर विवरण वा ईमेल अद्यावधिक नभएको अवस्थामा नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।
बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार सेवा प्रवाहलाई अझ सहज र डिजिटल बनाउने उद्देश्यले ग्राहकलाई समयमै विवरण अद्यावधिक गर्न अनुरोध गरिएको हो।