काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो विवादबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त सुरु गर्न सरकारसँग माग गरेको छ।
केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको उल्लेख गर्दै पार्टीले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको जनाएको छ।
सोमबार पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन आवश्यक रहेको स्पष्ट पारिएको छ। पार्टीले आफ्नो धारणा कुनै व्यक्ति वा दल लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित रहेको जनाएको छ।
विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासम्बन्धी गम्भीर प्रश्न उठाएको उल्लेख छ। यस्तो अवस्थामा अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको प्रभाव पर्ने आशंका नउठ्ने गरी स्वतन्त्र वातावरण सुनिश्चित गर्नुपर्ने कांग्रेसको भनाइ छ।
कांग्रेसले सरकारलाई सम्बोधन गर्दै सम्बन्धित आरोपहरूको छानबिन ढिलासुस्ती वा प्रभावबिना अघि बढाउन आग्रह गरेको छ। यस्तो प्रक्रियामा ढिलाइ वा ढाकछोपको प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
पार्टीले सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता समेत दोहोर्याएको छ।