काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चार माध्यममा प्रकाशित ३७ करोड रुपैयाँ दुरुपयोग गरी शेयर खरिद गरिएको भन्ने समाचारप्रति खण्डन गरेको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्ट ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका कम्पनीको शेयर खरिद गर्न नेपाल लाइफको सहायक कम्पनीबाट रकम दुरुपयोग गरेको भन्ने समाचार गलत र भ्रामक रहेको उल्लेख गरिएको छ।
उक्त समाचारमा धितोपत्र दलाल नम्बर ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत कारोबार भएको दाबीसमेत निराधार रहेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीका अनुसार यस विषयमा दिपक भट्ट वा सम्बन्धित ब्रोकर कम्पनीसँग कुनै प्रकारको संलग्नता नरहेको र कुनै कारोबारसमेत नभएको जनाएको छ।
साथै, नेपाल लाइफ इन्स्योरेन्सले आफूले सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आएको उल्लेख गर्दै भ्रामक समाचारप्रति सचेत रहन सबै सरोकारवालासँग अनुरोध गरेको छ।