करिब ३६ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति
पनौती । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती–५, चौकोटले आज आफ्नो २८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम बिहान ७ः३० बजे संस्थाको प्राङ्गणमा अध्यक्ष हिमाली श्रेष्ठ को अध्यक्षतामा आयोजित गरिएको थियो।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, संस्थापनाकालका सदस्यहरू, हालका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, कर्मचारीहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी ले गर्नुभएको थियो।
औपचारिक कार्यक्रम राष्ट्रिय गानबाट प्रारम्भ भई अध्यक्ष, संस्थापक अध्यक्ष र निवर्तमान अध्यक्षद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। त्यसपछि सम्पूर्ण पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूले २८ वटा दीपमा पालैपालो दीप प्रज्वलन गरेका थिए।
उपाध्यक्ष कविता कार्कीले स्वागत मन्तव्यमा संस्थाको हालसम्मको वित्तीय अवस्था सार्वजनिक गर्दै ३६०० शेयर सदस्यबाट करिब ३ करोड २० लाख रुपैयाँ शेयर संकलन, बचत रकम करिब ३० करोड रुपैयाँ र ऋण लगानी २३ करोड ७५ लाख रुपैयाँ पुगेको जानकारी गराइन्।

यसरी संस्थाले कुल करिब ३६ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति निर्माण गरेको उनले बताइन्। उनले संस्थाले सुशासन र नियमको पालना गर्दै सदस्य केन्द्रित ऋण लगानी गर्दै आएको जानकारी पनि दिइन्।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मैया महत ले संस्थाले हासिल गरेको प्रगति र उपलब्धिप्रति गौरव व्यक्त गर्दै कर्मचारी अनुशासित र सदस्य केन्द्रित सेवा प्रवाहमा जोड दिन सुझाव दिनुभयो। संस्थापक अध्यक्ष तिर्थमाया प्रधान ले संस्थाको २८ वर्षे यात्राको स्मरण गर्दै महिलाहरूको सक्रियतामा आधारित संस्थाले जिल्ला र प्रदेशस्तरमा पहिचान बनाउन सफल भएको बताउनुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष हिमाली श्रेष्ठ ले अग्रजहरूको सुझावलाई कार्यान्वयन गर्दै संस्थालाई अनुशासित र सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सदस्यहरूको विश्वास कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रम उपस्थित सबै शेयर सदस्य, समिति, उपसमिति, कर्मचारी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको थियो।