२०८३ असोज २ शुक्रबार

ट्रयाक खुलेको १६ वर्षपछि दरवाङ-तमानखोला सडक स्तरोन्नति हुँदै

ई आर्थिक    बिहिबार, चैत्र १२ २०८२
988
Shares
ट्रयाक खुलेको १६ वर्षपछि दरवाङ-तमानखोला सडक स्तरोन्नति हुँदै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी-च्युरीबोट-सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ।

मालिका गाउँपालिकाले यस सडकको बतासे-फूलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना सुरु गरेको हो। विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो।

प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार ४ सय ३२ रुपैयाँमा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ।

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न गर्ने कार्ययोजनाअनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए।

हाल ३.५ देखि ४ मिटर चौडाइ भएको सडकलाई कम्तीमा ६ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भइरहेको छ। फराकिलो पारेपछि करिब ५ सय मिटर दूरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण व्यवसायी पाण्डेले बताए।

मालिका गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दीपक सापकोटाका अनुसार यस आयोजनामार्फत ११ हजार घनमिटर भित्ता काट्ने, ४ सय ४५ घनमिटर ग्याबियन जालीको पर्खाल, २ सय ५४ घनमिटर नाली, २ सय ५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुनेछ।

यसअघिको वर्षमा थापाचौर देखि देविस्थान जाने घुम्ति सम्मको खण्डमा स्तरोन्नति भएको थियो। यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन्। यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij