काभ्रेपलाञ्चोक । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २८औं वार्षिक उत्सवको अवसरमा एचपीभी (HPV Screening Test ) सहितको स्वास्थ्य शिविर कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यक्रम २०८२ चैत १० गते बिहान ९:३० बजे संस्थाको भवनबाट सुरु भई बेलुका ४:०० बजे सम्पन्न भएको थियो।
उक्त कार्यक्रमको संयोजकत्व स्वास्थ्य तथा वातावरण उप–समिति संयोजक श्री सूर्यकमल श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ चिकित्सक डा. रुची कार्कीको नेतृत्वमा सम्पन्न भएको थियो।
स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरू इलीशा पोखरेल, उर्जा रेग्मी, क्रिस्टिना शाक्य, सुस्मा पण्डित, वर्षा तामाङ, उर्मिला कटुवाल, रामप्रसाद सत्याल र नवीन रानामगरको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी पदाधिकारीहरूमा लेखा सुपरिवेक्षण समिति संयोजक सोविता थापा मगर, उपाध्यक्ष कविता कार्की, सचिव शकुन्तला श्रेष्ठ, सह–सचिव शर्मिला अधिकारी, कोषाध्यक्ष श्री कल्याणी चन्द ठकुरी, सदस्य श्री अनिता कुइँकेल तथा स्वास्थ्य उप–समिति सदस्य गायत्री थापा मगर लगायत रहेका थिए।

स्वास्थ्य शिविरमार्फत कुल ८७ जना सदस्यहरूको स्वास्थ्य परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको संस्थाले जनाएको छ।
कार्यक्रम व्यवस्थापनमा संस्थाका अधिकृत यमुना प्रधान, सहायक श्री ललिता थापा तथा कर्मचारी श्री सुमिना श्रेष्ठको महत्वपूर्ण योगदान रहेको थियो।

कार्यक्रमको समापन संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीमार्फत गरिएको थियो। समापनका अवसरमा अतिथिहरूलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
सो अवसरमा अध्यक्ष हिमाली श्रेष्ठले संस्थाको वार्षिक कार्ययोजनाअन्तर्गत यस्ता स्वास्थ्य शिविरहरू हरेक वर्ष निरन्तर सञ्चालन गरिने बताउँदै आगामी दिनहरूमा पनि प्राविधिक सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

अन्त्यमा, उप–समिति संयोजक सूर्यकमल श्रेष्ठले उपस्थित सम्पूर्ण सदस्य, चिकित्सक तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता समयानुकूल स्वास्थ्य शिविरहरूले सदस्यहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याहरूको पूर्वपहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
साथै, आगामी दिनहरूमा यस्ता विविध स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरिएको थियो।