काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको सडक स्तरोन्नति काम सुरु भएको छ। वर्षातले क्षतिग्रस्त भएको यो सडक स्तरोन्नति गर्न सडक विभागले अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति लिएर काम अघि बढाएको हो।
सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया पूरा गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ। ठेक्का रकम १ अर्ब ३४ करोडमा लागेकाे र डबल लेन सडक बनाउन आवश्यक स्ट्रक्चर निर्माण धमाधम भइरहेको छ।
सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार हालसम्मको भौतिक प्रगति ७ प्रतिशत पुगेको छ। पहिरो जोखीम भएका क्षेत्रमा ज्ञाविन वाल र प्वाम्ट निर्माणको काम समेत चलिरहेको छ।
निर्माण कम्पनीका सञ्चालक गौरी उप्रेतीले भने, “निर्माणमा कुनै अवरोध नआए समयमै डबल लेन सडक निर्माण सम्पन्न हुनेछ। मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम सुरु गरेका हौँ। अहिले स्ट्रक्चर निर्माण तीव्र गतिमा भइरहेको छ।”
सडक स्तरोन्नति सम्पन्न भएपछि बाह्रबिसे–कोदारी सडक यातायातका लागि सहज र सुरक्षित बन्ने अपेक्षा गरिएको छ।