काठमाडौं । एभरेष्ट बैंकले विश्व वित्तीय सप्ताहको अवसरमा देशव्यापी रूपमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको संयोजनमा सञ्चालन गरिएको उक्त कार्यक्रम २०८२ चैत २ गतेदेखि चैत ८ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको थियो।
कार्यक्रम अन्तर्गत बैंकले देशका सातै प्रदेशका आफ्ना शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ। यस क्रममा ३,००० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी, केही विद्यार्थीहरूलाई बैंकका शाखा अवलोकन गराई बैंकिङ सेवाहरूको व्यावहारिक जानकारी पनि दिइएको थियो। ‘बचत सोच, भविष्य सुरक्षित’ भन्ने नारासहित सञ्चालन गरिएका कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, व्यवहार, वित्तीय पहुँच, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाहरू प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे सचेत गराइएको थियो।
बैंकका अनुसार हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्। देशभर १३३ शाखा, ४ विस्तारित काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ वटा स्वचालित टेलर मेसिन सञ्चालनमा छन्। साथै, मोबाइल, इन्टरनेट तथा सन्देश सेवामार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ।
एभरेष्ट बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य देशहरूमा पनि आफ्नो प्रतिनिधि कार्यालयमार्फत सेवा विस्तार गर्दै आएको छ।