२०८३ साउन १२ मंगलबार

हुरीका कारण झापामा केराखेतीमा १६ लाख रुपैयाँबराबरको क्षति

ई आर्थिक    आइतबार, चैत्र १ २०८२
2.5K
Shares
हुरीका कारण झापामा केराखेतीमा १६ लाख रुपैयाँबराबरको क्षति

झापा।  तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका-७ का किसानचन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ।

कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ। ‘भाँचिएका सबै केराघरी लागेका रहेछन्’, उनले भनिन्, ‘पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ।’

उनका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो। केरा नष्ट हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताइन्।

किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक-पटक मारमा पारेको बताए। यसअघि गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले उनको करिब एक करोड रुपैयाँबराबरको केराखेती नष्ट गरेको थियो।

‘बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो’, बस्नेतले भने, ‘अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति। प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij