ई–आर्थिक, काठमाडौं । उत्तर कोरियाले शनिबार पूर्वी सागरतर्फ झण्डै १० वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। दक्षिण कोरियाको संयुक्त सैन्य कमान्ड ज्वाइन्ट चिप्स अफ स्टाफ (JCS) का अनुसार मिसाइलहरू राजधानी प्योङयाङ नजिकैको सुनान क्षेत्रबाट स्थानीय समयानुसार दिउँसो १ बजेर २० मिनेटमा प्रक्षेपण गरिएको हो।
बीबीसीका अनुसार दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको समयमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। यस घटनाले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्न सक्ने विश्लेषण गरिएको छ।
ज्वाइन्ट चिप्स अफ स्टाफका अनुसार प्रक्षेपित मिसाइलहरू पूर्वी सागरतर्फ प्रहार गरिएका थिए र सुरक्षा निकायहरूले घटनाबारे थप विवरण संकलन गरिरहेका छन्।
यस वर्ष उत्तर कोरियाले गरेको यो तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो। यसअघि पनि उसले विभिन्न चरणमा मिसाइल परीक्षण गर्दै आएको छ।
उता, जापानको रक्षा मन्त्रालयले पनि शनिबार भएको प्रक्षेपणको पुष्टि गरेको छ। मन्त्रालयले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत सम्भवतः उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको जानकारी दिएको थियो।
यद्यपि, उत्तर कोरियाको तर्फबाट यस मिसाइल परीक्षणबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।