भक्तपुर । धुलिखेलदेखि खावा खण्डसम्म पर्ने अरनिको राजमार्गमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने भएको छ। यससँगै सो सडक खण्डमा निश्चित अवधिका लागि सवारी सञ्चालनमा आंशिक प्रतिबन्ध लगाइएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन भक्तपुरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडक खण्डमा कालोपत्रे गर्ने काम सञ्चालन गरिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा फागुन २९ गते बसेको बैठकको निर्णयअनुसार सो अवधिमा सवारी साधन सञ्चालनमा समयसम्बन्धी व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
सूचनाअनुसार चैत ७ देखि चैत २० गतेसम्म ठूला चारपाङ्ग्रे सवारी साधन (बससहित) बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने छ।
त्यस्तै सोही अवधिमा टिपर तथा ट्रकहरू (पास लिएका सवारी समेत) भने चौबीसै घण्टा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक याकामीका अनुसार सडक कालोपत्रे कार्य सहज रूपमा सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो। यस अवधिमा उक्त सडक प्रयोग गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।