१० अन्तर्राष्ट्रिय कम्पनीमध्ये तीन अयोग्य ठहर, पाँच वर्ष सञ्चालनका लागि प्रतिस्पर्धा
काठमाडौँ : बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आवेदन दिएका १० कम्पनीमध्ये सात कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन्। प्राविधिक मूल्याङ्कनमा छनोट भएका कम्पनीहरूको अब आर्थिक प्रस्ताव (फाइनान्सियल बिड) मूल्याङ्कन गरिने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ।
आयोजनाले गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (International Competitive Bidding–ICB) आह्वान गरेको थियो। उक्त बोलपत्रमा छ चिनियाँ, तीन भारतीय र एक टर्की कम्पनी गरी १० कम्पनीले आवेदन दिएका थिए। तीमध्ये तीन कम्पनीले आवश्यक मापदण्ड पूरा गर्न नसकेपछि प्राविधिक मूल्याङ्कन चरणबाट बाहिरिएका छन्।
खरिद प्रक्रियाअनुसार प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीहरूको मात्र आर्थिक प्रस्ताव खोलिने व्यवस्था रहेको छ।
बोलपत्रका सर्तअनुसार सबै विदेशी कम्पनीले कम्तीमा एक नेपाली कम्पनीसँग संयुक्त उपक्रम (Joint Venture) बनाएर आवेदन दिएका छन्। चयन हुने सेवाप्रदायक कम्पनीले सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाँच वर्षसम्म पाउनेछ।
आयोजनाका अनुसार प्राविधिक मूल्याङ्कनमा छनोट भएका कम्पनीहरूमा काष्ठमाण्डप–गान्सु हेङटोङ (संयुक्त), एसएक्सआरबी–ब्राइट बुल (संयुक्त), जेटिसिजी–डाँफे (संयुक्त), इएमएसएल–पशुपति शिवजी कन्स्ट्रक्सन (संयुक्त), समानान्तर–चाइना फर्स्ट हाइवे इन्जिनियरिङ (संयुक्त), वेदांशी इन्फ्रास्ट्रक्चर–रानकेन रेल्वे कन्स्ट्रक्सन ग्रुप (संयुक्त) र चोङक्विङ युक्सिन रोड एन्ड ब्रिज डेभलपमेन्ट–एआरटी कन्स्ट्रक्सन (संयुक्त) रहेका छन्।
त्यसैगरी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट–स्वच्छन्द निर्माण सेवा (संयुक्त), बाबरी कन्स्ट्रक्सन–टनेल टेक सोलुसन (संयुक्त) र केएसएनएस–अल्टिनको–बिपिसिएल (संयुक्त) भने प्राविधिक मूल्याङ्कनमा असफल भएका छन्।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुङ्गा क्षेत्रमा निर्माण भइरहेको रणनीतिक पूर्वाधार परियोजना हो, जसले काठमाडौँ प्रवेश र बाहिरिने सवारी आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।