२०८३ साउन १० आइतबार

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

ई आर्थिक    बुधबार, फाल्गुन २७ २०८२
2.1K
Shares
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ। सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलले ग्यास आपूर्ति रोकिँदा व्यवसाय नै बन्द हुन सक्ने चेतावनी दिएका छन्।

भारत विश्वकै धेरै जनसङ्ख्या भएको देश र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता हो। त्यस्तै, खाना पकाउने ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो, जसको ठूलो हिस्सा मध्यपूर्वबाट आउँछ। पेट्रोलियम मन्त्रालयले मङ्गलबार जारी गरेको आदेशमा होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार प्राथमिकताका क्षेत्रमा ग्यासको समान वितरण सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

सरकारले घरपरिवार, यातायात र एलपिजी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको छ। यसबाहेक मल कारखाना र चिया उद्योगले आवश्यकताको ७० देखि ८० प्रतिशत मात्र ग्यास पाउनेछन् भने पेट्रोकेमिकल र विद्युत् केन्द्रमा आपूर्ति कटौती गरिने बताइएको छ। ग्यास अभावले सिरेमिक र टाइल उत्पादन गर्ने कम्पनीको काम प्रभावित भइसकेको छ।

यसैबीच, घरपरिवारलाई प्राथमिकता दिने सोमबारको अर्को आदेशले रेस्टुरेन्ट व्यवसायी थप चिन्तित बनेका छन्। भारतको नेसनल रेस्टुरेन्ट एसोसिएसनका अनुसार रेस्टुरेन्ट उद्योग व्यावसायिक एलपिजीमा निर्भर रहने भएकाले आपूर्ति रोकिँदा व्यवसाय नै धराशायी हुने जोखिम छ। ‘रेस्टुरेन्ट उद्योग मुख्यतया आफ्नो सञ्चालनका लागि व्यावसायिक एलपिजीमा निर्भर छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा अवरोध आए धेरैजसो रेस्टुरेन्टहरू विनाशकारी रूपमा बन्द हुन सक्छन्।’

दक्षिण भारतको बेङ्गलुरुस्थित होटल उद्योग संघका प्रमुख पी. सी. रावले पनि स्थिति चिन्ताजनक रहेको बताए। उनले ग्यास आपूर्ति प्रभावित भइसकेको र साना रेस्टुरेन्टमा एक-दुई दिनलाई मात्र मौज्दात रहेको जानकारी दिए। ‘अवस्था डरलाग्दो छ’, रावले भने, ‘अब धेरै प्रतिष्ठानहरूले परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो मेनु घटाउने वा परिवर्तन गर्नेबारे सोच्न थालेका छन्।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij