काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचन आज सम्पन्न भएसँगै काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा मतगणनाको तयारी गरिएको छ। निर्वाचन आयोगका अनुसार प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना केन्द्र तोकिएको छ।
काठमाडौँ क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुने तय गरिएको छ। त्यसैगरी क्षेत्र नं २ को मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा गरिनेछ।
क्षेत्र नं ३ को मतगणना चामुण्डा माध्यमिक विद्यालय, नारायणटारमा हुने आयोगले जनाएको छ। क्षेत्र नं ४ को मतगणना बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा हुनेछ।
त्यसैगरी क्षेत्र नं ५ को मतगणना टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा हुने छ भने क्षेत्र नं ६ को मतगणना तार्केश्वर नगरपालिका, धर्मस्थलीमा गरिनेछ।
क्षेत्र नं ७ को मतगणना नयाँबजारस्थित जुडो हलमा हुनेछ। क्षेत्र नं ८ को मतगणना जनउद्धार माध्यमिक विद्यालय, हरिसिद्धीमा गरिनेछ।
यसैगरी क्षेत्र नं ९ को मतगणना चन्द्रागिरि नगरपालिका, बलम्बुमा हुने तय भएको छ भने क्षेत्र नं १० को मतगणना कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा गरिने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन सम्पन्न भएसँगै कतै मतगणना भइरहेको छ भने कतै मत गन्ने तयारी भइरहेको छ ।