२०८३ साउन ११ सोमबार

इरान–अमेरिका–इजरायल द्वन्द्वको असर खाडीमा : १२ जनामा नेपालीको पनि मृत्यु

ई आर्थिक    मंगलबार, फाल्गुन १९ २०८२
2.5K
Shares
इरान–अमेरिका–इजरायल द्वन्द्वको असर खाडीमा : १२ जनामा नेपालीको पनि मृत्यु

काठमाडौं । इरान र अमेरिका–इजरायलबीच जारी द्वन्द्वको असर खाडी मुलुकहरूमा देखिन थालेको छ। पछिल्लो विवरणअनुसार विभिन्न आक्रमण र प्रतिआक्रमणका क्रममा खाडी क्षेत्रमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढी घाइते भएका छन्।

मृत्यु हुनेहरूमा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीसहित तीन विदेशी कामदार, ओमान मा एक भारतीय, बहराइन मा एक व्यक्ति, कुवेत मा एक स्थानीय नागरिक तथा छ अमेरिकी सैनिक रहेका छन्। मारिने र घाइते हुनेमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदार र अमेरिकी सैनिक रहेको जनाइएको छ।

घाइते हुनेहरूको संख्या कुवेतमा सबैभन्दा बढी ५९ भन्दा बढी पुगेको छ, जसमा सर्वसाधारण र सैनिक दुवै समावेश छन्। युएईमा ५८, कतार मा १६, बहराइनमा ६ र ओमानमा ५ जना घाइते भएका छन्।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले १८ अमेरिकी सैनिक गम्भीर घाइते भएको पुष्टि गरेको छ भने अन्य धेरैलाई सामान्य चोट लागेको जनाएको छ। मिसाइल र ड्रोन निष्क्रिय पार्ने क्रममा खसेका भग्नावशेष आवासीय क्षेत्रमा खस्दा सर्वसाधारण घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

युएईमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु

द्वन्द्वका क्रममा ज्यान गुमाउने नेपाली गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। चार वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गएका उनी गत वर्ष दसैंमा घर आएका थिए।

आइतबार युएईमा भएको इरानी ड्रोन आक्रमणका क्रममा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी उनको मृत्यु भएको पुष्टि गरिएको छ। अबुधाबीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै युएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारीका आधारमा घटनाको पुष्टि गरेको जनाएको छ।

दिवसको निधनपछि उनका आमाबुबा स्तब्ध बनेका छन् भने गाउँ नै शोकमग्न भएको छ।

यस घटनापछि खाडीका विभिन्न मुलुकहरूमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढ्न थालेको छ। सरकारले अवस्थाको निगरानी गरिरहेको र आवश्यक समन्वय भइरहेको स्रोतहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij