२०८३ साउन १२ मंगलबार

झापा–५ लाई आईटी हबदेखि कृषि आधुनिकीकरणसम्म: यस्ताे छ बालेनको ‘वाचापत्र’

ई आर्थिक    सोमबार, फाल्गुन ११ २०८२
1.6K
Shares
झापा–५ लाई आईटी हबदेखि कृषि आधुनिकीकरणसम्म: यस्ताे छ बालेनको ‘वाचापत्र’

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले झापा क्षेत्र नं. ५ का मतदातामाझ विस्तृत वाचा–पत्र सार्वजनिक गर्दै संविधान २०७२ को पूर्ण कार्यान्वयन, सुशासन र तीव्र विकास आफ्नो मुख्य प्राथमिकता हुने बताएका छन्। “जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ, काम गर्न दिनुहोला,” भन्दै उनले मतदाताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सार्वजनिक वाचा–पत्रमा उनले संघीय सांसदको हैसियतले आवश्यक कानुन निर्माण, संशोधन र परिमार्जनमा सक्रिय भूमिका खेल्ने, बेथिति र भ्रष्टाचारविरुद्ध संसदको अग्रपंक्तिमा उभिने तथा झापा–५ का विकासका मुद्दालाई राष्ट्रिय नीति र बजेटमा सशक्त रूपमा उठाउने बताएका छन्। स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै पाँच वर्षभित्र उल्लेखित योजनाहरू सम्पन्न गर्ने लक्ष्य उनले अघि सारेका छन्।

शिक्षा क्षेत्रमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय विस्तार गर्ने, विद्यालय छाड्ने दर शून्यमा झार्ने तथा प्राविधिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिने योजना प्रस्तुत गरिएको छ। दमक बहुप्राविधिक शिक्षालय सञ्चालन, ऐतिहासिक पुस्तकालय पुनर्निर्माण, साइन्स पार्क व्यवस्थापन तथा आयुर्वेद प्रतिष्ठान स्थापना जस्ता कार्यक्रम समेटिएका छन्।

पूर्वाधारतर्फ अधुरा योजनालाई समयसीमा तोकी सम्पन्न गर्ने, दमक–रवि–चिसापानी सडक निर्माण, तटबन्ध निर्माणमार्फत कटान–डुबान नियन्त्रण, ग्रामीण सडक र पुल स्तरोन्नति, सीमावर्ती क्षेत्रमा भरपर्दो सञ्चार सेवा विस्तार तथा दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्ने लक्ष्य वाचा–पत्रमा उल्लेख छ। साथै रंगशाला, पार्क, सभागृह लगायत संरचनालाई उच्चतम नागरिक उपयोगितासहित सञ्चालनमा ल्याउने योजना रहेको छ।

कृषि तथा रोजगारीतर्फ सिँचाइ विस्तार, श्रम बैंक अवधारणा लागू, कृषि भण्डारण केन्द्र स्थापना, उत्पादनमा आधारित अनुदान, समर्थन मूल्य ग्यारेन्टी, बीमा प्रणाली सुदृढीकरण र युवालाई कृषि पेशामा आकर्षित गर्ने कार्यक्रम अघि सारिएको छ। वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशीलतामा जोड्ने नीति पनि समावेश गरिएको छ।

स्वास्थ्य क्षेत्रमा दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने, विपन्न बिरामीका लागि १० प्रतिशत शैया निःशुल्क छुट्याउने, ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने, घर–घर स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। शुद्ध खानेपानी, अपाङ्गता पुनर्स्थापना केन्द्र स्थापना र ज्येष्ठ नागरिक लक्षित सेवा विस्तार पनि योजनामा समेटिएको छ।

भूमि व्यवस्थापनतर्फ भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि “१०० दिनमा आयोग, १००० दिनमा समाधान” नीति अवलम्बन गर्ने उल्लेख छ। बाँझो जमिन उपयोग, जग्गा चक्लाबन्दी, ल्याण्ड बैंक व्यवस्था र ऐलानी जग्गाको अभिलेखीकरणलाई प्राथमिकता दिइएको छ। वातावरण संरक्षणअन्तर्गत चुरे संरक्षण, वैज्ञानिक फोहोर व्यवस्थापन, वन–ताल–सिमसार संरक्षण, हरित शहर निर्माण तथा विपद् व्यवस्थापन कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

महिला तथा बालबालिकातर्फ आमाको नामबाट नागरिकता प्रक्रिया सरल बनाउने, महिला कृषि कर्जा कार्यक्रम सञ्चालन गर्ने, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालिममार्फत रोजगारी प्रवर्द्धन गर्ने, बाल पोषण र छात्रा स्वास्थ्य कार्यक्रम सुदृढ गर्ने तथा २४ सै घण्टा सुरक्षित शहर निर्माण गर्ने योजना अघि सारिएको छ। हिंसापीडित महिला तथा बालबालिकाका लागि सेफ हाउस स्तरोन्नति गरिने उल्लेख छ।

पर्यटन, उद्योग, खेलकुद र संस्कृतितर्फ सीमावर्ती पर्यटन विकास, भन्सार व्यवस्थापन सुधार, स्थानीय हाटबजारको संरक्षण, धार्मिक स्थल प्रवर्द्धन, आदिवासी जनजाति संस्कृति संरक्षण, बहुआयामिक खेलकुद एकेडेमी निर्माण, दमक गोल्डकपलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन तथा कला–संस्कृति संरक्षणका कार्यक्रम समेटिएका छन्।

सुशासनलाई केन्द्रमा राख्दै अनलाइन गुनासो प्रणाली, सार्वजनिक कार्यको डिजिटल ड्यासबोर्ड, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति र श्रमिक अधिकार सुनिश्चित गर्न श्रम ऐन परिमार्जन गर्ने प्रतिबद्धता जनाइएको छ। “मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित हुनेछ,” भन्दै उनले झापा–५ को समग्र विकास, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने अठोट दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij