२०८३ साउन ९ शनिबार

नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक: समृद्धि, स्थिरता र रोजगार प्रमुख प्राथमिकता

ई आर्थिक    बिहिबार, फाल्गुन ७ २०८२
2.9K
Shares
नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक: समृद्धि, स्थिरता र रोजगार प्रमुख प्राथमिकता

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

पार्टीले ‘तत्काल गर्ने ११ काम’, ‘५ आधारभूत घोषणा’ र ‘समृद्धिका २५ स्तम्भ’लाई नीतिगत प्राथमिकतामा राखेर घोषणा पत्र तयार पारेको हो।

अध्यक्ष केपी शर्मा ओली ले घोषणा पत्र सार्वजनिक गर्दै निर्वाचित भएसँगै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकबाटै तत्काल ११ काम अघि बढाइने बताए। उनले “आधा दशकमा १ सय खर्ब र एक दशकमा २ सय खर्बको अर्थतन्त्र निर्माण गर्ने” महत्वाकांक्षी लक्ष्य प्रस्तुत गरे।

एमालेले आफ्नो चुनावी घोषणापत्रमा प्रमुख सार्वजनिक भवनहरू जस्तै सिंहदरबार र सर्वोच्च अदालत एक वर्षभित्रै पुनर्निर्माण गर्ने, प्रतिव्यक्ति आय पाँच वर्षभित्र ३ हजार अमेरिकी डलर पुर्‍याउने, र औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा दोब्बर गर्ने लक्ष्य राखेको छ।

यसबाहेक, दुई वर्षभित्र सबै घरमा खानेपानी र सरसफाइको पहुँच सुनिश्चित गर्ने, मध्यपहाडी, कोशी, गण्डकी र कर्णालीमा करिडोर सिटी निर्माण गर्ने, सबै गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तिमा एक सडकले जोड्ने, सुकुमवासी र स्वास्थ्य बीमा समस्या समाधान गर्ने, र पाँच वर्षभित्र श्रम आय दोब्बर हुने अवसर स्वदेशमै उपलब्ध गराउने योजना समावेश गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यालय शिक्षा ऐन र उच्च शिक्षा ऐन जारी गरी प्राज्ञिक स्वायत्तता कायम गर्ने, खेतीयोग्य जमिनमा बारै महिना सिंचाइ उपलब्ध गराउने र खाद्यमा आत्मनिर्भर बनाउने, सहकारी ठगलाई कारबाही गरी पीडितको बचत रकम फिर्ता गर्ने, भन्सार कार्यालय सातै दिन सञ्चालन गर्ने र २४ घण्टाभित्र भन्सार जाँच-पास पूरा गर्ने, साथै भ्रष्टाचारमुक्त तथा सेवाग्राहीमैत्री शासन स्थापना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो नेतृत्वमा बनेमा देशभरका सबै विद्यार्थीलाई निर्व्याजी २० लाख रुपैयाँ ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

सो घोषणापत्रअनुसार १८–२८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराइने, १० हजार डलर कार्ड, रेमिटेन्स पठाउने श्रमिकको खातामा वार्षिक ५ हजार बोनस, सामाजिक सुरक्षा कोषमा योगदान गरिने, कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवाखाजा, किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड, र श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार कायम गर्ने व्यवस्था गरिने उल्लेख छ।

साथै स्वास्थ्य स्वयंसेवकलाई वार्षिक २० हजार भत्ता, सुत्केरी पोषण भत्ता, २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा, शिक्षकको मर्यादाक्रम तोक्ने र सबै विद्यालयका शिक्षकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने प्रतिवद्धता पनि गरिएको छ। त्यस्तै, उद्यमी महिलालाई निर्व्याजी २० लाख रुपैयाँसम्म ऋण, गर्भवती महिलालाई निःशुल्क जीवन विमा ५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धता पनि एमालेले जनाएको छ।

५ आधारभूत घोषणा

एमालेले मर्यादित श्रम र स्वदेशमै रोजगारी, सुरक्षित तथा सम्मानजनक आवास, गतिशील गाउँ र आधुनिक सहर, सहरको स्वच्छता र पूर्वाधार पूर्णता, तथा स्वच्छ पानी र स्वस्थ जीवनलाई आधारभूत घोषणाका रूपमा अघि सारेको छ।

समृद्धिका २५ स्तम्भ

घोषणा पत्रमा औद्योगिक क्षेत्र विस्तार गरी उत्पादनमा २० प्रतिशत योगदान पुर्‍याउने, आयात घटाई निर्यात बढाउने, आधुनिक कृषि प्रणालीमार्फत खाद्य आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी हरित वन संरक्षण, सहकारी क्षेत्रमा सुशासन, पर्यटन प्रवर्द्धन, सिँचाइ विस्तार, गुणस्तरीय शिक्षा र प्रविधि विकास, डिजिटल पूर्वाधार विस्तार, सुरक्षित यातायात र स्वच्छ ऊर्जाको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।

एमालेले पुनर्निर्माण र नयाँ निर्माण, सुदृढ वित्तीय प्रणाली, युवामा सिर्जनशीलता प्रवर्द्धन, खेलकुद विकास, स्वच्छ प्रशासन, सन्तुलित परराष्ट्र नीति तथा गैरआवासीय नेपाली (एनआरएन)को योगदानलाई राष्ट्रिय विकासमा जोड्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले घोषणा पत्रमार्फत सुशासन, उत्पादनमुखी अर्थतन्त्र र दिगो विकासलाई केन्द्रमा राख्दै समृद्ध नेपाल निर्माणको अभियान अघि बढाउने दाबी गरेको छ।

नेकपा एमालेले  समृद्धि लक्ष्य हासिल गर्न २५ मुख्य स्तम्भको आधारमा राष्ट्रिय विकास योजनाहरू अघि बढाउने घोषणा गरेको छ। यसले आर्थिक, सामाजिक, वातावरणीय र नागरिक जीवनका सबै पक्ष समेट्ने उद्देश्य राखेको छ।

  1. हाम्रो अर्थ: आधा दशकमा १ सय खर्ब, एक दशकमा २ सय खर्बको आर्थिक लक्ष्य।

  2. मर्यादित श्रम: स्वदेशमै रोजगार, स्वदेशमै काम।

  3. सुरक्षित र सम्मानजनक आवास: आधुनिक, नागरिकमैत्री आवास।

  4. गतिशील गाउँ, आधुनिक शहर: आर्थिक विकासका नयाँ लहर।

  5. सहरको स्वच्छता, पूर्वाधारको पूर्णता: समुन्नत शहर हाम्रो प्रतिबद्धता।

  6. स्वच्छ पानी, सफा आँगन: स्वस्थ नेपाली हाम्रो अभियान।

  7. उद्योग क्षेत्रको विस्तार, उत्पादनमा वृद्धि: २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि।

  8. आयात घटाउने, निर्यात बढाउने: भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने।

  9. आधुनिक खेती, उन्नत व्यवसाय: कृषिमा रोजगार, पर्याप्त आय।

  10. हरियो वन, समुदायको धन: संरक्षण, उपयोग, दिगो व्यवस्थापन।

  11. सहकारितामा सुशासन र पारदर्शिता: बचतकर्ताको हित हाम्रो प्रतिबद्धता।

  12. पर्यटकको वृद्धि, लामो बसाइ: गाउँ–सहरमा काम र कमाइ।

  13. खेतीयोग्य जमिनमा कूलो र नहर: बाह्रै महिना सिँचाइ, खाद्य आत्मनिर्भरता।

  14. गुणस्तरीय शिक्षा, उन्नत प्रविधि: ज्ञानी नागरिक, देशका निधि।

  15. स्वस्थ खाना, योग/व्यायाम: निरोगी नेपालको महाअभियान।

  16. डिजिटल पूर्वाधार: विकास र सुशासनको आधार।

  17. सुरक्षित यातायात, आधुनिक पूर्वाधार: दिगो विकास र समृद्धिको आधार।

  18. स्वच्छ ऊर्जा, स्वदेशमा खपत: हरित विकास, विदेशमा निर्यात।

  19. पुनर्निर्माण र नयाँ निर्माण।

  20. सुदृढ वित्तीय प्रणाली: उत्पादनशील लगानी।

  21. सिर्जनशीलता, युवा, नवीन विचार: समाज रूपान्तरणको सुदृढ आधार।

  22. ऊर्जा, खेलकुद, देशको शान: खेलकुदको विकास, राष्ट्रको मान।

  23. सफा हात, स्वच्छ प्रशासन: गुणस्तरीय सेवा, जनप्रिय शासन।

  24. सबैसँग मित्रता, छैन कसैसँग शत्रुता।

  25. नेपालका सद्भाव दूत, एनआरएनको सम्मान: मातृभूमिको विकासमा सार्थक योगदान।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij