गुलरिया। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी खटाउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। जिल्लामा कार्यरत कर्मचारीलाई मतदान केन्द्रमा पठाउन आवश्यक आन्तरिक गृहकार्य भइरहेको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठका अनुसार निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन आवश्यक व्यवस्थापन कार्य तीव्र गतिमा अघि बढाइएको छ। जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नम्बर २ का लागि राजापुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम गुलरियाबाट सञ्चालन भइरहेको छ।
३८९ मतदान केन्द्र निर्धारण
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि कुल ३८९ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा १९९ स्थायी र २ अस्थायी गरी २०१ मतदान केन्द्र निर्धारण गरिएको छ। यस क्षेत्रमा ७५ मतदान स्थल तोकिएको छ। एक मतदान स्थलमा एकदेखि सातवटासम्म मतदान केन्द्र रहने प्रावधान छ।
मतदान स्थलगत अनुगमन तथा निरीक्षण मुख्य निर्वाचन अधिकृत श्रेष्ठको उपस्थितिमा सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।
सयौं कर्मचारी खटिने
निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लका अनुसार दुई निर्वाचन क्षेत्रका लागि ३८९ मतदान अधिकृत, ३८९ सहायक मतदान अधिकृत र ३८९ कार्यालय सहयोगी खटाइने छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।