जनकपुरधाम। गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले अब देशको नेतृत्व सम्हाल्दै कुसाशन अन्त्य गर्ने प्रतिज्ञा गरेको छ।
जनकपुरधामस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्न सक्षम रहेको दाबी गरे। उनले मधेशबाटै देश परिवर्तनको साहस र अठोट सुरु भएको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए।
“अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ,” उनले भने, “मधेशले नेतृत्व लिन सक्ने शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको आधार यहाँ छ।”
मधेशलाई ज्ञान र आर्थिक केन्द्र बनाउने लक्ष्य
सभापति थापाले मधेशलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित कांग्रेस मधेश झरेको स्पष्ट पारे। मधेशका शिक्षकहरूको योगदान स्मरण गर्दै उनले शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रको वर्तमान अवस्था सुधार गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
किसान, विशेषगरी उखु किसानका समस्या, वातावरणीय संकट तथा खानेपानी अभाव समाधानलाई प्राथमिकतामा राखिने उनले बताए। मधेशलाई सिंगो देशलाई पाल्न सक्ने आर्थिक शक्तिका रूपमा विकास गर्ने लक्ष्यसमेत उनले प्रस्तुत गरे।
विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य जिम्मेवार
सभापति थापाले विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक परे दूतावास र कर्मचारी व्यवस्थापन गरी राज्यले पूर्ण जिम्मेवारी लिने घोषणा गरे। “कुनै पनि नेपाली विदेशमा रहे पनि उसको हेरचाह गर्ने दायित्व नेपाल सरकारको हुनेछ,” उनले भने।
सहकारी ठगी नियन्त्रण र क्रिकेट एकेडेमी योजना
मधेशको वित्तीय संरचना अस्तव्यस्त भएको उल्लेख गर्दै उनले सहकारी ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताए। “यहाँ सहकारी ठगहरूको विगबिगी बढेको छ, अब उनीहरूलाई तह लगाइन्छ,” उनले चेतावनी दिए।
युवाहरूको आकांक्षालाई सम्बोधन गर्दै उनले मधेशमा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना सार्वजनिक गरे। “मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गर्न म चाहन्छु,” उनले भने।
‘मत मात्र होइन, विश्वास लिन आएका छौं’
आफू मधेशको ‘बेटा’ बन्न आएको उल्लेख गर्दै सभापति थापाले ऐतिहासिक व्यक्तित्वहरूको साहसबाट प्रेरणा लिएको बताए। कांग्रेस शुद्धीकरण र आत्मसमीक्षासहित जनविश्वास लिन मैदानमा आएको उनको भनाइ थियो।
“अब हामी मत मात्र होइन, विश्वास र भरोसा लिन आएका छौं,” उनले भने, “देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देखाउन कांग्रेस तयार छ।”
सभापति थापाले कांग्रेसलाई युवाहरूको साझा पार्टीका रूपमा स्थापित गर्दै उनीहरूको सपना साकार पार्ने अभियान सुरु भएको घोषणा गरे।