२०८३ साउन १० आइतबार

उज्यालो नेपाल पार्टीद्वारा निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
1.7K
Shares
उज्यालो नेपाल पार्टीद्वारा निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक

काठमाण्डौ ।  उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। पार्टीले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विभिन्न योजना र लक्ष्य प्रस्तुत गरेको छ।

पार्टीका अनुसार, यो प्रतिबद्धता–पत्र संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने, र अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी सिर्जना गर्ने स्पष्ट रोडम्याप समेटिएको छ।

सुशासन र प्रशासन सुधार

पार्टीले सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्न, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, र सार्वजनिक पदाधिकारी तथा कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव राखेको छ। प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा ५५० बाट ३३० मा कटौती, सङ्घीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५–७ मा सीमित गर्ने, र राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने पनि यसमा उल्लेख गरिएको छ।

प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा पनि समावेश गरिएको छ। साथै सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

समृद्धि र आर्थिक लक्ष्य

उज्यालो नेपाल पार्टीले २०३० सम्म कुल गार्हस्थ उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। निर्यात २०३० मा १० अर्ब अमेरिकी डलर र २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने, प्रतिवर्ष करिब १० लाख रोजगारी सिर्जना गर्ने, र ऊर्जा क्षेत्रमा २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने योजना प्रस्ताव गरिएको छ।

जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता दिने नीति अपनाइनेछ। कृषि उत्पादन प्रवद्र्धन, किसानमैत्री बजार, पर्यटनको धार्मिक, स्वास्थ्य र साहसिक खेल केन्द्रको रूपमा विकास, र युवाका लागि उद्यमशीलता तथा स्वरोजगार अभियान सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा

पार्टीले हरेक नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य परामर्श, प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा, निःशुल्क विश्वविद्यालय शिक्षा, +२ तहमा व्यावसायिक सीप विकास र इंटर्नशिपको व्यवस्था, र नवजात शिशु बचत कोष स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।

भूमिहीन र विपन्न परिवारका लागि सस्तो आवास निर्माण, भूमिहीनलाई जग्गा वितरण, र परिवार संरक्षण प्याकेजमार्फत आकस्मिक घटनाबाट सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता पनि यसमा समावेश छ।

पूर्वाधार, पर्यटन र युवा कार्यक्रम

सडक, रेल, जलमार्ग र स्मार्ट सिटी विकास, हवाई पूर्वाधार विस्तार, पर्यटन दशक २०२६ अन्तर्गत ३६५ दिन अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन, र सातै प्रदेशमा युवा रोजगार मेला आयोजना गरी ६ लाख युवालाई आईटी, कोडिङ, साइबर सुरक्षा लगायत डिजिटल सीपमा प्रशिक्षण दिने योजना प्रस्तुत गरिएको छ।

भ्रष्टाचार नियन्त्रण र ट्रान्सपरेन्सी

भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, उज्यालो हटलाइन र पुरस्कार कोष, र अनलाइन सम्पत्ति सार्वजनिक गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।

पार्टीले आफ्नो घोषणापत्र तयार गर्दा विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालासँग घनिभूत छलफल गरी तथ्याङ्कको आधारमा योजनाहरू तयार गरिएको बताएको छ। पार्टीको नारा अनुसार, “गफ होइन काम, भाषण होइन परिणाम” भन्ने उद्देश्यसहित, योजनाहरू कार्यान्वयनयोग्य छन्।

उज्यालो नेपाल पार्टीले प्रतिवद्धता–पत्रमा उल्लेखित सबै योजनाहरूको हरेक वर्ष प्रगति रिपोर्टकार्ड मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij