२०८३ साउन १० आइतबार

महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ सार्वजनिक

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
6.8K
Shares
महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ सार्वजनिक

ई–आर्थिक, काठमाडौं, कथाकार शोभा ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ शनिबार काठमाडौंमा आयोजित विशेष समारोहबीच विमोचन गरिएको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी, साहित्यकार डा. नवराज लम्साल, साहित्यकार तथा वरिष्ठ पत्रकार बबिता बस्नेत लगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै लेखिका ज्ञवालीले ‘मन्दाकिनी’ कलम र शब्दको मात्र उत्पादन नभई आँसु, पीडा र आशाबाट जन्मिएको कृति भएको बताइन्। उनले यो कृति कल्पनाभन्दा पनि समाजका वरिपरि बाँचिरहेका मानिसका यथार्थ कथासँग जोडिएको उल्लेख गरिन्।

‘आज म यहाँ लेखकका रूपमा मात्र नभएर समाजका नदेखिएका कथाहरू बोकेर आएकी छु,’ उनले भनिन्, ‘लेखन मेरा लागि शब्दको खेल होइन, जिम्मेवारी हो।’

ज्ञवालीका अनुसार यस कृतिमा समकालीन नेपाली समाजका विविध आयाम, संवेदना र परिवर्तनका आकांक्षा समेटिएका छन्। ‘मन्दाकिनी’ समाजभित्र गुम्सिएका आवाजलाई शब्दमार्फत बाहिर ल्याउने प्रयास भएको उनको भनाइ छ।

यसअघि उनका ‘सम्पूर्ण आकाश’ र ‘संघर्ष’ प्रकाशित भइसकेका छन्। पहिलो कृतिमा सपनाको भाषा, दोस्रोमा यथार्थको स्वर र तेस्रोमा समाजको मुटुबाट निस्किएको आवाज समेटिएको उनले बताइन्।

वक्ताहरुले के भने ?

समारोहमा उपस्थित वक्ताहरूले ज्ञवालीको लेखनशैली सरल, प्रभावकारी र समाजप्रति उत्तरदायी रहेको टिप्पणी गरे।

खाद्य सुरक्षाविज्ञ डा. यमुना घलेले महिला नेतृत्व र उद्यमशीलतामा ज्ञवालीको योगदान प्रेरणादायी रहेको बताइन्।

वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘मन्दाकिनी’ले सर्वसाधारणदेखि विभिन्न तहका महिलाको भावना समेटेको उल्लेख गर्दै पुस्तक पढेर लेखकलाई हौसला दिन आग्रह गरिन्।

नेपाल रिपब्लिक मिडियाका प्रधानसम्पादक गुणराज लुइँटेलले कथाहरू जीवनका आँखीझ्यालजस्तै भएको बताए।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कृतिले सामाजिक यथार्थ र गहिराइलाई आत्मसात गरेको प्रतिक्रिया दिए।

उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधि हेमराज ढकालराधा श्रेष्ठले पुस्तकले महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

मानव अधिकारकर्मी गणेशप्रसाद घिमिरेले कथाहरूले सामाजिक न्यायका विषय संवेदनशील रूपमा उठाएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले यस्ता कृतिले पाठकलाई प्रेरणा दिने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि डा. नवराज लम्सालले कृतिले समकालीन समाजका सम्बन्ध, संघर्ष र भावनात्मक आयामलाई सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरे।

जन्मदिनकै अवसरमा विमोचन

लेखिका ज्ञवालीले आफ्नो जन्मदिनकै अवसर पारेर कथासंग्रह सार्वजनिक गरेकी हुन्। कार्यक्रममा सहभागीहरूले उनलाई नयाँ कृतिको सफलताका साथै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

समारोहमा विभिन्न क्षेत्रका उद्यमी, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ‘मन्दाकिनी’ले पाठकलाई सोच्न, अनुभूति गर्न र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij