काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको छ। लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली तथा मतदानसम्बन्धी विषय समेटेर आयोगले सामग्री सार्वजनिक गरेको हो।
आयोगले मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली र राजनीतिक दलको भूमिकालगायत विषयहरूलाई पनि स्रोत सामग्रीमा समावेश गरेको जनाएको छ। नागरिकलाई निर्वाचनसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार उक्त सामग्रीका आधारमा सरकारी निकाय, नागरिक समाज, विभिन्न संस्था तथा व्यक्तिहरूले नागरिक शिक्षा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।
यसैबीच, आयोगले आगामी फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी गरेको जनाएको छ। निर्वाचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न देशव्यापी रूपमा कार्यक्रम विस्तार गरिने आयोगको योजना छ।