२०८३ असोज २ शुक्रबार

लक्ष्यभन्दा पाँच महिनाअघि गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक स्तरोन्नतिको काम सम्पन्न

ई आर्थिक    मंगलबार, माघ २० २०८२
4K
Shares
लक्ष्यभन्दा पाँच महिनाअघि गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक स्तरोन्नतिको काम सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन एक वर्ष निर्माण अवधि भएको योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न भएको हो।

गण्डकी प्रदेश सरकारले ३ करोड ५९ लाख ९८ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको उक्त योजना निर्माणका लागि बीबीपीएल बीएसडीएस धवलागिरि छनोट भएको थियो। विसं २०८२ असार १६ गते २ करोड २३ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म थियो।

निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको, स्थानीयस्तरमा सहजीकरण, निगरानी र सम्बद्ध कार्यालयबाट भएको समन्वयका कारण लक्ष्यअघि नै योजना सम्पन्न भएको बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताए।

‘धेरैजसो आयोजना ढिलासुस्तीले थला परेका अवस्थामा व्यवसायी, सम्बद्ध कार्यालयको इच्छाशक्ति र स्थानीयस्तरमा सहजीकरण गरेर काम हुने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘योजना निर्माणमा आउने सामाजिक समस्याको सहजीकरण गर्न सरोकार समिति बनाएका थियौँ।’

यस योजनामार्फत बेनी नगरपालिका-९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३ सय मिटर ढलान र एक हजार १ सय मिटर दूरीको सडकलाई फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर डा महेन्द्र बानियाँले बताए।

यसअघि ४ मिटर फराकिलो सडकलाई हाल ७ मिटर चौडा बनाइएको छ। म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति योजना थालिएको हो।

गलेश्वर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार हो भने पछैमा हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको किंवदन्ती छ। जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ।

बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरिएको वडाध्यक्ष केसीले बताए। अघिल्लो कार्यकालमा बेनी नगरपालिकामार्फत गलेश्वर-काउलेगौडा क्षेत्रमा करिब २ किलोमिटर सडक स्तरोन्नति भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij