मुक्तिनाथ (मुस्ताङ) : लिजी–नेचुङ (कोरला) नाकामा परेको भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको आयात–निर्यात सेवा प्रभावित भएको छ। गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाक्लो हिमपात भएपछि कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट हुने निकासी तथा पैठारी ठप्प बनेको हो।
कोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनर रोकिएका छन् भने नेपालबाट निकासी हुने सामान बोकेका मालबाहक ट्रकहरू मुस्ताङ भन्सार कार्यालयमै थन्किएका छन्। भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार बाक्लो हिउँ जमेकाले सेवा प्रभावित भएको हो। उहाँले भन्नुभयो, “हिमपातका कारण समस्या आएको छ, अझै करिब एक सातासम्म नियमित सेवा सञ्चालन हुने सम्भावना न्यून छ।”
भन्सार कार्यालयबाट समुन्द्र सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक उकालो भएकाले सडकमा जमेको हिउँका कारण मालबाहक ट्रक सञ्चालनमा कठिनाइ भइरहेको छ। हिउँ पन्छाउन डोजर प्रयोग गरिए पनि सडक चिप्लो भएकाले सवारी साधन फस्ने जोखिम रहेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो।
यसैबीच, भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत छोसेर–जोमसोम सडकखण्डमा समेत हिउँ जमेकाले ढुवानीमा थप समस्या उत्पन्न भएको छ। हाल भन्सार कार्यालय परिसरमा करिब तीन दर्जन मालबाहक ट्रक र कन्टेनर रोकिएका छन्। जाँचपास भइसकेका तथा प्रक्रियामा रहेका कन्टेनरहरू हिमपातपछि रोकिन पुगेको प्रमुख खड्काले बताउनुभयो।
कोरला नाकामार्फत चीनतर्फ पैठारी तथा चीनबाट नेपाल भित्रिने सामान ढुवानी हुने गरेको छ। भन्सार कार्यालयले माघ महिनाको पहिलो सातासम्म विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट चार अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
वि.सं. २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन भएको कोरला नाका चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ ३० गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो। भन्सार कार्यालयका अनुसार हालसम्म तीन हजार तीन सय २९ वटा विद्युतीय (ईभी) गाडी आयात भएका छन्। यस अवधिमा करिब ११ अर्ब रुपैयाँ बराबरको सामान आयात तथा २० करोड रुपैयाँ बराबरको निर्यात भएको छ। नेपालबाट हस्तकला सामग्री, कपडा लगायतका वस्तुहरू निकासी हुँदै आएका छन्।