२०८३ साउन १० आइतबार

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

ई आर्थिक    शुक्रबार, माघ १६ २०८२
3.3K
Shares
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

काठमाडौं ।  कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ।

कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र पर्याप्त बनाउने उद्देश्यका साथ अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको यस आयोजनासँगै कर्णाली प्रदेशमा पहिलोपटक १३२ केभी क्षमताको प्रसारण लाइन पुगेको हो। यसले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लामा विद्युत आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ठेक्का सम्झौता गरी अघि बढाइएको यो आयोजना वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान प्रक्रिया, राष्ट्रिय निकुञ्ज क्षेत्र, स्थानीय अवरोध तथा कठिन भूगोलजस्ता चुनौतीका बाबजुद सफलतापूर्वक सम्पन्न गरिएको हो।

यसअघि २०४५ सालदेखि कोहलपुरबाट ३३ केभी प्रसारण लाइनमार्फत कर्णालीका विभिन्न जिल्लामा विद्युत आपूर्ति हुँदै आएको थियो। सीमित क्षमताका कारण कम भोल्टेज, बारम्बार अवरोध र अस्थिर आपूर्तिको समस्या रहँदै आएको थियो।

१३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत आपूर्ति मात्र पर्याप्त, सुरक्षित र गुणस्तरीय हुने नभई कर्णाली क्षेत्रमा उत्पादित जलविद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने महत्वपूर्ण पूर्वाधारसमेत तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

आयोजनाअन्तर्गत सुर्खेत–दैलेख खण्डको निर्माण कार्य भने हाल निर्माणाधीन रहेको छ।

कोहलपुर–सुर्खेत खण्ड निर्माण सम्पन्न गर्न दिनरात खटिएका आयोजना व्यवस्थापन टोली, समन्वय गर्ने जिल्ला प्रशासन कार्यालयहरू, डिभिजन वन कार्यालयहरू, स्थानीय तह, राजनीतिक दल तथा स्थानीय बासिन्दालगायत सम्पूर्ण सरोकारवालाप्रति पूर्वउर्जामन्त्री कुलमान घिसिङले  आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij