काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। लगातार छ दिनसम्म ऐतिहासिक उचाइमा पुगेको बहुमूल्य धातुको मूल्य आज एकाएक ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले घट्दै ३ लाख १८ हजार ८०० रुपैयाँमा झरेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यही दिन सुनको भाउ एकै दिनमै २० हजार ५०० रुपैयाँले बढेको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ४४० रुपैयाँले घट्दै ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य मानिन्छ।
लगातारको मूल्यवृद्धिपछि आज सुनचाँदी बजारमा आएको यो गिरावटले लगानीकर्ता र उपभोक्ताको ध्यान तानेको छ।