काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको समग्र खुद नाफा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकिङ क्षेत्रको कुल नाफा करिब ११.५ प्रतिशतले वृद्धि भएको देखिएको छ।
ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार अपेक्षाअनुसार नबढेको अवस्थामा इम्पेरमेन्ट चार्ज घट्नु, सञ्चालन खर्च नियन्त्रणमा आउनु तथा गैर–ब्याज आम्दानी बढ्नुले बैंकहरूको नाफामा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ। यद्यपि सबै बैंकमा समान सुधार नदेखिएकाले बैंकिङ क्षेत्रभित्र नाफा वृद्धिमा असन्तुलन भने कायमै रहेको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले करिब २७ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा भने बैंकहरूको कुल नाफा बढेर करिब ३० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा २० बैंकमध्ये ११ बैंकको नाफा वृद्धि भएको छ भने बाँकी बैंकको नाफा घटेको वा नोक्सानीमा गएको छ। यसले केही ठूला बैंकको सुधारले समग्र प्रणालीको नाफा उकासिएको संकेत गर्छ।
नाफा आर्जनको हिसाबले नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले पहिलो ६ महिनामा ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४७ प्रतिशतले बढी हो। त्यसपछि ग्लोबल आईएमई, कुमारी, एभरेष्ट र प्राइम कमर्सियल बैंक उच्च नाफा कमाउने सूचीमा छन्।
विशेष रूपमा कुमारी बैंकको नाफा उल्लेख्य रूपमा उक्लिएको छ। अघिल्लो वर्ष इम्पेरमेन्ट चार्जका कारण कमजोर नाफामा रहेको बैंकले चालु वर्ष सोही चार्ज घटेपछि झन्डै नौ गुणा नाफा वृद्धि गरेको छ।
विपरीततर्फ लक्ष्मी सनराइज बैंक पुस मसान्तसम्म नोक्सानीमा रहेको छ। अघिल्लो वर्ष नाफामा रहेको यस बैंक चालु वर्ष करिब २७ करोड रुपैयाँ घाटामा गएको छ। सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कृषि विकास र एनआईसी एसिया बैंकको नाफा पनि घटेको छ।
