काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर २०८२’ सार्वजनिक गरेको छ। यसअघि सञ्चालनमा रहेको अटम अफर अन्तर्गतका प्याकेजहरू सेवाग्राहीबाट अत्यधिक रुचाइएको भन्दै त्यसैलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
विन्टर अफर अन्तर्गत पहिलेबाटै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याकलगायतका प्याकेजहरू यथावत रूपमा उपलब्ध रहनेछन्।
त्यसैगरी नेपाल टेलिकमका एड–अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि उपलब्ध विशेष प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताका लागि उपलब्ध बन्डल प्याकेजहरू पनि निरन्तर उपलब्ध रहनेछन्। एफटीटीएच अन्तर्गतका प्याकेजहरू समेत यथावत राखिएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई अब रिकरिङ प्याकेजको रूपमा निरन्तरता दिइएको छ। यस व्यवस्था अनुसार प्रयोगकर्ताले प्रत्येक महिना प्याकेज नवीकरण गर्नुपर्ने झन्झट हट्नेछ र प्याकेज स्वतः नवीकरण हुनेछ।
यसअघि ८९९९ डायल गरेर मात्र रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप ‘नेपाल टेलिकम एप’ तथा वेबसाइटमार्फत पनि सो प्याकेज लिन सकिने व्यवस्था गरिएको छ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेजहरू मिति २०८२ माघ ११ गतेदेखि लागू भई आगामी ९० दिनसम्म उपलब्ध रहनेछन्।
ग्राहकहरूले विभिन्न प्याकेज प्राप्त गर्न ८९९९ डायल गर्न सक्नेछन्। साथै ‘नेपाल टेलिकम’ मोबाइल एप तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि सेवा खरिद तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको विन्टर अफर आकर्षक र उपयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।