ई–आर्थिक, काठमाडौं । पोखराका चर्चित आयुर्बेद व्यवसायी कृष्ण राउत आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेका छन् । कास्कीको क्षेत्र नं. १ बाट उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनको चुनाव चिन्ह ‘त्रिभुज’ रहेको छ ।
साँस्कृतिक र प्राविधिक विकासका लागि आफूले उम्मेद्वारी दिएको व्यवसायी राउतले बताए । गुणस्तरीय स्वास्थ्य, शिक्षाका साथै रोजगारीलाई पनि आफूले उच्च प्राथमिकतामा राखेको उनले बताए ।
पूर्वकालमा ठूला–ठूला उद्योगसँगै मुलुक औद्योगिक युगमा प्रवेश गरिसकेको थियो तर विभिन्न कालखण्डमा ती उद्योगहरु मास्ने काम भएको भन्दै मुलुकमा पुनः औद्योगिक क्रान्ति आवश्यकतामा उनले जोड दिने बताए । ‘मुलुकमा पर्याप्त औद्योगिक विकास नभएकोले नै युवा पुस्ता विदेशिन बाध्य भएका हुन् ।’ राउतले भने– ‘पर्याप्त रोजगारीको बातावरणसँगै उनीहरुलाई स्वदेश फर्काउने कार्यमा म जोडदार आवाज उठाउने छु ।’
मुलुकका उर्जावान युवाको ठूलो संख्या विदेशिएपछि गाउँघरमा मर्दा मलामी जाने समेत मान्छेको अभाव हुन थालिसक्यो । त्यसगरी काम गर्ने मानिसको अभावले खेतीयोग्य जमिन बाँझो भइरहको छ । यस्तो परिस्थितिमा विदेशिएका युवालाई स्वदेश फर्काई उनीहरुलाई व्यवसायिक तथा रोजगारीको बातावरण सिर्जना गर्ने चुनौतिसँगै दायित्य हाम्रो काँधमा आएको उनको भनाई छ ।
मुलुक पुनर्निर्माणका लागि विदेशिएका उर्जावान युवाहरुको आवश्यकता उनले औल्याए । मुलुक पुननिर्माणको लागि युवाहरुलाई स्वदेश फर्कन समेत उम्मेद्वार राउतले आव्हान गरे ।
जेनजी पुस्ताले आन्दोलनको भावना र मर्मलाई समेत आफूले भरपुर सम्बोधन गर्ने बताए ।
खोटाङ जिल्लामा जन्मेका राउत लामो समयदेखि पोखरामा आयुर्वेद क्षेत्र तथा स्थास्थ्य सेवामा समर्पित छन् । उनी आयुर्वेद क्षेत्रको केन्द्रीय छाता संस्था राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रीय बरिष्ठ उपाध्यक्षसमेत हुन् । विभिन्न सााजिक संघ/संस्थामा रहेर उनले लामो समयदेखि सामाजिक कार्यमा योगदान पु¥याउदै आएका छन् ।