काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा केन्द्र सरकारको आम्दानी र खर्च दुवै अपेक्षाअनुसार हुन नसकेको देखिएको ह। पुस मसान्तसम्म आइपुग्दा सरकारको कुल आम्दानी वार्षिक लक्ष्यको करिब ३८ प्रतिशतमा सीमित भएको छ भने खर्च करिब ३५ प्रतिशत मात्रै भएको छ।
सरकारले यस वर्ष १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा अर्धवार्षिक अवधिसम्म करिब ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च भएको छ। चालु खर्च तुलनात्मक रूपमा केही अघि रहे पनि पुँजीगत खर्च निकै कमजोर देखिएको छ। विकास बजेटतर्फ वार्षिक लक्ष्यको करिब १२ प्रतिशत मात्रै खर्च हुन सकेको छ।
राजस्व संकलनतर्फ पनि लक्ष्यभन्दा कम प्रगति भएको छ। कुल राजस्व लक्ष्यको करिब ३९ प्रतिशत मात्र उठेको छ, जसमा कर र गैरकर दुवै शीर्षक कमजोर देखिएका छन्। वैदेशिक अनुदान प्राप्ति त झनै न्यून रहँदै लक्ष्यको करिब १३ प्रतिशतमा सीमित भएको छ।
अर्धवार्षिक अवधिमा सरकारको कुल खर्च आम्दानीभन्दा करिब एक खर्ब रुपैयाँले बढी देखिएको छ, जसले बजेट कार्यान्वयनमा चुनौती रहेको संकेत गर्छ।
चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि पुस मसान्तसम्मको प्रगति लक्ष्यभन्दा पछाडि देखिएको छ।
पुससम्मका लागि ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा करिब १ खर्ब २९ अर्ब रुपैयाँ कम राजस्व उठेको छ। यद्यपि पुस महिनामा भने राजस्व संकलन तुलनात्मक रूपमा उत्साहजनक देखिएको छ। सो महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको झन्डै ९० प्रतिशत हो, साथै पुस ३० गते एकै दिनमा २० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि पुससम्मको राजस्व लक्ष्य पूरा हुन नसकेको भए पनि चालु वर्षमा पुस महिनाको संकलन अघिल्लो वर्षको सोही अवधिभन्दा केही सुधार भएको अर्थमन्त्रालयले जनाएको छ, यद्यपि समग्र लक्ष्य हासिल गर्न अझै चुनौती कायम रहेको छ।