काठमाडौं। वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर माघमा पनि घटेको छ । केही महिनादेखि निरन्तर घट्दो क्रममा रहेका वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर माघ पनि घटेको हो। पुस महिनाको तुलनामा माघमा व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदरमा कमी देखिएको छ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, माघमा २० बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.६८ प्रतिशत ब्याज दिने भएका छन्, जुन पुसको ४.८३ प्रतिशतबाट घटेको हो। व्यक्तिगत निक्षेपमा ११ बैंकले ब्याजदर घटाउँदा औसतमा ०.१५ प्रतिशतविन्दुले कमी आएको छ।
संस्थागत निक्षेपमा पनि औसत ब्याजदर ३.४४ प्रतिशतबाट ३.३८ प्रतिशतमा सीमित भएको छ। माघ महिनामा चार बैंकले मात्रै संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्, बाँकी १६ बैंकले पुस महिनाकै दर कायम राखेका छन्।
विशेषगरी, हिमालयन बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट ५ प्रतिशतमा घटाएको छ भने माछापुच्छ्रे बैंकले ५ प्रतिशतबाट ४.५ प्रतिशतमा घटाएको छ। सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र नेपाल एसबीआई बैंकले पनि व्यक्तिगत निक्षेपमा ब्याजदर कटौती गरेका छन्।
संस्थागत निक्षेपमा अधिकांश बैंकले ब्याजदर यथावत राखेका छन्। एभरेस्ट बैंकले मात्र ४ प्रतिशतबाट ३.५ प्रतिशतमा घटाएको देखिन्छ। अधिकांश बैंकको संस्थागत निक्षेप ब्याजदर २.७५–३.५ प्रतिशतको दायरामा छ।
अघिल्लो महिनाको प्रवृत्तिविपरीत प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.२५ प्रतिशतबाट ४.४ प्रतिशतमा सामान्य वृद्धि गरेको छ।
विश्लेषकहरुले बैंकहरुको ब्याजदर घट्नुको कारण बैंकिङ प्रणालीमा तरलता सहज हुनु, कर्जा माग कमजोर हुनु र राष्ट्र बैंकको नीतिगत सहजता भएको बताएका छन्। ब्याजदर घट्दा कर्जाग्राहीलाई राहत पुग्ने भए पनि निक्षेपकर्ताको प्रतिफल कम हुने अनुमान गरिएको छ।
समग्रमा वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर घट्दो ट्रेन्डमा रहेको छ, जसले आगामी महिनाहरूमा पनि ब्याजदर दबाबमै रहने संकेत गरेको छ।
