काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाट घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरूलाई घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको हो।
मंगलबार राति उक्त बैंकमा पाँचदेखि छ जनाको समूहले प्रवेश गरी लुटपाट गरेको थियो। प्रारम्भिक विवरणअनुसार लुटेराहरूले बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ बराबरको रकम लगेका थिए।
प्रहरीले लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ विभिन्न स्थानबाट बरामद गर्न सफल भएको जनाएको छ। बरामद कार्यमा पनि स्थानीयको सहयोग महत्वपूर्ण रहेको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।