वित्तीय जानकारी इकाईको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौँ । राष्ट्र बैंकले वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनमा नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी इकाईले गरेका नीतिगत तथा सञ्चालनगत कार्य र उपलब्धिहरू समेटिएका छन्।
प्रतिवेदनअनुसार इकाईले प्राप्त गरेका शङ्कास्पद कारोबार तथा सीमा कारोबारसम्बन्धी प्रतिवेदन, तिनको विश्लेषण, सम्बन्धित निकायमा गरिएको तथ्याङ्क प्रेषण, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयका गतिविधि र आगामी रणनीतिक प्राथमिकताहरूलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा इकाईले सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको छ भने नयाँ FIU Reporting Guidelines जारी तथा अद्यावधिक गरेको छ।
यसका साथै शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शनसमेत परिमार्जन गरिएको छ। वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि क्षमता विकास, अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
नयाँ FIU प्रणालीमार्फत वित्तीय सूचना सङ्कलनमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ। आ.व. २०८०/८१ मा FIU प्रणालीमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १,६३९ रहेकोमा आ.व. २०८१/८२ मा यो सङ्ख्या बढेर ३,४९७ पुगेको छ। सोही अवधिमा इकाईले ९,५६५ वटा शङ्कास्पद कारोबार तथा शङ्कास्पद गतिविधि प्रतिवेदन (STR/SAR) प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।
प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत करिब ४० प्रतिशतले वृद्धि भएको इकाईले जनाएको छ। विश्लेषणपश्चात् ९४५ वटा STR/SAR मा आधारित वित्तीय जानकारी प्रतिवेदन (Financial Intelligence Report) नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ। यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको इकाईको विश्वास छ।
अन्तर्राष्ट्रिय समन्वयतर्फ, आ.व. २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ। सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाइएको प्रतिवेदनमा उल्लेख छ। साथै, FATF ले सन् २०२३ मा गरेको पारस्परिक मूल्याङ्कनपछि नेपाल ‘ग्रे–लिस्ट’ मा परेपछि भएका समन्वयात्मक प्रयासहरू पनि प्रतिवेदनमा समेटिएका छन्।
वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधारका प्रयासलाई इकाईको आगामी प्राथमिकताका क्षेत्रका रूपमा पहिचान गरेको छ। आगामी दिनमा वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने इकाईको कार्यदिशा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।