काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, २०८२ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु. ७,५४५ अर्ब ७७ करोड पुगेको छ, जुन समीक्षा अवधिमा ३.९ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.७ प्रतिशतले मात्र बढेको थियो।
कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३९.९ प्रतिशत र ४४.६ प्रतिशत रहेको छ। यसमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत पुगेको छ।
साथै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.९ प्रतिशतले बढ्दै रु. ५,५९९ अर्ब ९५ करोड पुगेको छ। वार्षिक आधारमा यो वृद्धि ६.६ प्रतिशत रहेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा मध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामा क्षेत्रगत वितरण अनुसार, निर्माण क्षेत्रमा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रमा ५.१ प्रतिशत, यातायात/सञ्चार/सार्वजनिक सेवा क्षेत्रमा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.४ प्रतिशत वृद्धि भएको छ। कृषि क्षेत्र र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फ कर्जा २.२ प्रतिशतले घटेको छ।
धितोको आधारमा कर्जा वितरण हेर्दा, चालु सम्पत्तिमा १४.९ प्रतिशत र घरजग्गा धितोमा ६४.४ प्रतिशत रहेको छ। हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट/व्यक्तिगत आवासीय कर्जा ३.७ प्रतिशत, क्यास क्रेडिट २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले वृद्धि भएको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ।
विशेषज्ञहरूका अनुसार, हालको निक्षेप र कर्जा प्रवाहको वृद्धिले नेपालको बैंकिङ क्षेत्र बलियो र निजी क्षेत्रका लगानीका लागि पर्याप्त तयारी भएको संकेत गर्दछ।